स्याङजा २ साउन । असारको अन्तिमदिनसम्म स्याङजामा ८० प्रतिशत खेतमा रोपाईं सकिएको छ। रोपाईं हुने कुल क्षेत्रफलमध्ये अब २० प्रतिशत भूभागमा भने रोपाई हुन बाँकी छ।
कालीगण्डकी र गल्याङ्मा ६० प्रतिशत रोपाई भएको छ। आँधीखोला, फेदिखोला, अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिकामा ९५ प्रतिशत सकिएका छन्।
चापाकोट, बिरुवा, हरिनासमा ८० प्रतिशत रोपाई सकिएको छ। जिल्लाको समग्र रोपाईलाई हेर्दा ८० प्रतिशत धान खेत रोपेर सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो ।
आँधीखोला, ज्याग्दीखोला, कालीगण्डकी नदिको पानी सिंचित गर्दै धान रोपिन्छ। जिल्लामा १६ हजार हेक्टरमा धानखेती भएको कृषि अधिकृत इश्वरीप्रसाद अर्यालले बताउनुभयो । उहाका अनुसार साबित्री, रामधान, सुनौलो सुन्गन्धा र स्थानीय जातका धानको उत्पादन राम्रा हुन्छन।
छिटै पर्याप्त बर्षा भएका कारण किसानले समयमै धान रोप्न पाए। साउनको अन्तिमदिन सम्म रोपिने टारी खेत पनि यसपटक रोपिसकिएका छन्। सिचाइं पुगेका खेतमा जेठको तेस्रोसातादेखि रोपाई सुरु गरिन्छन्। तर, असारको तेस्रो सातादेखि भने यहाँ खडेरी परेकोे छ।
आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान उत्पादनका पकेट क्षेत्र हुन।
दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार, वालिङ, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङमा पनि धान उत्पादन अत्यन्तै राम्रो हुन्छ।
यसपटक जिल्लामा रामधान, सावित्री, सुनौलो सुगन्धा, उन्नत जात र हाईव्रीड धान रोपिएका छन्। जिल्लाका ४० प्रतिशतमा फलफूल, २० प्रतिशत पाखो र टारीखेत भएको केन्द्रले जनाएको छ।
कार्यालयका अनुसार गतबर्ष स्याङ्जामा ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
