स्याङ्जा ६ माघ । सुन्तला उत्पादनमा प्रतिकुल रहेको स्याङ्जामा यसवर्ष ७६ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। गत वर्षको तुलनामा यसवर्ष ३ करोड २२ लाख ४० हजार कम मूल्य बराबरको उत्पादन भएको हो।
गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा सुन्तला प्रति हेक्टर ५ प्रतिशत कम मेट्रिक टन उत्पादकत्व दर रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले जानकारी दिनुभयो । उहाका अनुसार,‘गत वर्ष प्रति हेक्टर १५ दशमलब २ टन उत्पादकत्व दर थियो भने, यसवर्ष प्रतिहेक्टर १० दशमलब ३ मेट्रिक टन छ।’
जिल्लामा झण्डै २ हजार हेक्टरमा सुन्तला खेती हुन्छ। स्याङ्जाको हावापानी सुन्तला खेतीका लागि उपयुक्त छ। गत वर्षभन्दा यसवर्ष झण्डै ३ सय हेक्टर सुन्तला खेती क्षेत्र विस्तार भएको बताइएको छ। तीमध्ये १ हजार ४ सय हेक्टरमा मात्र सुन्तला उत्पादन लिन सकिन्छ भने बाँकी झण्डै ६ सय हेक्टरमा सुन्तलाले फल दिएका छैनन्।
गत वर्ष १७ हजार ६ सय ३२ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १३ हजार ८ सय ४० छ। यसवर्ष अत्याधिक वर्षा र औंसा किराको प्रकोप देखिएकाले गत वर्षभन्दा झण्डै ३ हजार ८ सय टन सुन्तला कम फले।
उत्पादकत्व दर घटे पनि सुन्तलाको बजार र मूल्य उच्च रह्यो। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष प्रति किलो ४५ देखि ७५ रुपैयाँमा बेचेका किसानले यसवर्ष ५० देखि ८० रुपैयाँ प्रति किलोमा सुन्तला बगैचाबाट बिक्री गरेका छन्।
यहाँ उत्पादित सुन्तलामध्ये किसानले २५ प्रतिशत आफैं उपभोग गर्दछन् भने ७५ प्रतिशत सुन्तला बिक्री वितरण गर्छन्। उत्पादित सुन्तलामध्ये ३ हजार ४ सय ६० टन अर्थात १९ करोड ३ लाखका सुन्तला आफैले खान तथा इष्टमित्रका लागि उपहारका लागि दिइन्छ। यहाँ सयौं परिवार सुन्तला व्यवसायमा रमेका छन्। उनीहरुले बर्सेनि सुन्तलाबाटै लाखौं रुपैयाँ आम्दानी गर्छन्।
त्यसपछि १० हजार ३ सय ८० मेट्रिक टन अर्थात ७५ प्रतिशत सुन्तला बिक्री गर्छन्। जसबाट ५७ करोड ९ लाख आम्दानी हुनेछ। झण्डै २० प्रतिशत सुन्तला स्थानीय बजारमा खपत हुन्छ भने ८० प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात गरिन्छन्। नारायणघाट, बुटवल, पोखरा, र काठमाडौं सुन्तलाका मुख्य बजार हुन । अझै पनि ५ प्रतिशत सुन्तला टिप्न बाँकी छन्।
जिल्लाभरका १२ हजार धरधुरी सुन्तला किसानका ३ हजारभन्दा बढी साना ठूला सुन्तलाका बगैचा छन्। स्याङ्जाका ६र७ वडा बाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुन्छ। सुन्तलाका लागि उपयुक्त भूगोल भएकाले प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यक्रम समेत यहाँ संचालनमा छ। पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाँउपालिकाका १७ वटा वडालाई समेटेर सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ। कार्यक्रम संचालनपछि सहकारी, समूह र निजी फार्म दर्ता गरी सुन्तला खेती गर्न किसानको संख्या बढेको सुपरजोन कार्यालय प्रमुख माधव लम्सालको भनाई छ।
पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिका सहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला उत्पादनका पकेट क्षेत्र हुन । चापाकोट नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा सुन्तलाको उत्पादन राम्रो छ।
कात्तिकको अन्तिमसातादेखि खान थालेको सुन्तला फागुनको पहिलोसातासम्म रहन्छ। सुन्तला बिरुवा रोपेको ५ देखि ७ बर्षभित्रमा फल दिने हुदाँ सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दो छ। त्यसमा पनि सुपरजोन र ज्ञान केन्द्रको पनि सहयोग जारी छ।