स्याङ्जा २३ असोज । ‘पोष्ट फर प्लानेट’ भन्ने मुल नाराका साथ आइतवार विश्व हुलाक दिवस स्याङ्जामा पनि बिबिध कार्यक्रमगरी मनाइएको छ ।
दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बिगतदेखि हालसम्म हुलाकको विश्वसनीयता कायम रहेको बताउदै आउदा दिनहरुका हुलाकका सेवालाई समयानुकुलन बनाउनु पर्नेमा जोड दिनुभयो । संचार र प्रबिधिका कारण केही ओझेलमा परे पनि हुलाक सेवाका कामलाई बजारीकरण गर्न र थप जिम्मेवारी दिनुपर्नेमा उहाको भनाई छ। प्छिल्ला दिनमा हुलाक सेवाप्रतिको विश्वसनियता र सस्तो सर्वसुलभ रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, हुलाक कार्यालयका नायब सुब्बा रमेशराज ढकाल लगायतले शुभकामना मन्तब्य सहित बिगतमा हुलाकले बिमा लगायत बैंकिङ् कारोवार गर्दे आएको बताउदै हुलाकलाई थप जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।
हुलाक कार्यालय प्रमुख कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खरिदार राहुल विकले स्वागत एवं खरिदार रोहीणीरमण पौडेलले संचालन गर्नुभएको थियो ।
यसैगरी, सोही अवसरमा एक जना पत्रकार सहित ७ जना हुलाक कार्यालयका कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, हुलाक कार्यालयका नायब सुब्बा रमेशराज ढकाल, खरिदार राहुल विक, हल्कारा पाँचौ शालिकराम खनाल, हल्काराहरु लक्ष्मी कोइराला र गीता काफले र हुलाक प्रतिनिधी रामबहादुर विक रहनु भएको छ ।
स्याङ्जामा एक जिल्ला हुलाक कार्यालय सहित १२ वटा इलाका कार्यालय र ५३ वटा अतिरिक्त हुलाक कार्यालय छन् । कार्यालयले टिकट, एफ एम रेडियो नविनकर, पत्रिका दर्ता र नविकरण, केवल टिभी रोयल्टी, जरिवाना लगायत हुलाक सेवाबाट २०७८÷०७९ मा २१ लाख २३ हजार २४७ रुपैंया राजश्व संकलन गरेको प्रमुख तिमिल्सिनाले जानकारी दिनुभयो ।