स्याङ्जा ८ मंसिर । स्याङ्जामा १ लाख ७० हजार किलो आलु रोपिएको छ । कृषि ज्ञान केन्द्रको ‘समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत आठवटा स्थानीय तहमा १७ सय रोपनीमा आलु रोपिएको हो ।
जिल्लाका ३५ वटा समूह÷सहकारी मार्फत १ सय ७० मेट्रिक टन आलु लगाइएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत विनोद हमालले जानकारी दिनुभयो । व्यावसायिक आलु खेतीमार्फत किसानलाई औद्योगीकरण गर्ने उद्देश्य सहित आलुबाट चिप्स, फ्रेन्च फ्राई लगायतका आलुका परिकार बनाई आर्थिकोपार्जन गर्ने लक्ष्य हो ।
स्याङ्जाका ११ पालिका मध्ये ८ पालिका पुतलीबजार, भीरकोट, वालिङ्, गल्याङ्, चापाकोट नगरपालिका र फेदिखोला, अर्जुनचौपारी, बिरुवा गाउँपालिकामा न्यूनतम ३० रोपनीदेखि ५ सय ५४ रोपनी सम्ममा आलु खेती गरिएको हो । ८ पालिका मध्ये सबैभन्दा धेरै चापाकोट र गल्याङमा लगाइएको छ । आँधीखोला, हरिनास र कालीगण्डकी गाउँपालिकाले निर्धारित समयमै माग नगरेका कारण ती पालिकामा आलु कार्यक्रम गर्न नसकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
आलु खेतीका लागि केन्द्रले आलुका बिउविजन, मेशिन औजारमा ७५ देखि ८५ प्रतिशतसम्म अनुदान र आवश्यकता अनुरुप निशुल्क तालिम र आइपिएम पाठशालाको ब्यवस्था गरेको छ ।
आलु खेतीका लागि उपयुक्त हावापानी भएको स्याङ्जाको गल्याङ्मा जनकदेव आलुको वीउ स्रोत केन्द्र छ। अघिल्ला बर्षहरुमा यहाँका आलु अन्यत्र जिल्लामा बिक्री गरिन्थ्यो। तर, यसबर्ष भने यही उपयोग हुने भएको छ।
गल्याङ् नगरपालिका ११ जिमुवाका उत्पादित जनकदेव आलुको वीउ र भैरहवाबाट ल्याइएको खुमल उज्ज्वल आलुका वीउ रोपिएको प्रमुख हमालले बताउनुभयो । उहाका अनुसार, ‘एक लाख ७० हजार किलो बीउ मध्ये १ लाख १२ हजार किलो स्याङ्जामा उत्पादित आलु वीउ हो भने ५८ हजार किलो भैरहवाबाट निर्यात गरिएको हो ।’