स्याङ्जा २२ साउन । स्याङ्जामा ६ हजार ४ सय मतदाता थपिएका छन्। असार १ गतेदेखि संचालित मतदाता नामावली संकलन अभियानपछि ती मतदाता थपिएका हुन।
जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीका अनुसार जिल्ला बाहिरबाट नाम सार्ने र सच्चाउनेको विवरण आउन बाँकी छ। उहाले भन्नुभयो, ‘यो संख्या भनेको जिल्लामै फोटो खिचाउने र मतदाता नामावलीमा नाम चढाउनेको मात्र हो।’
सरकारले मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेदेखि मतदाता नामावली संकलन कार्य स्थगित भएको छ। सरकारले स्थानीय तहको निर्वाचनपछि असार १ देखि मतदाता नामावली संकलनको काम गर्दे आएको थियोे।
स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङबाट मतदाता नामावली सहित फोटो खिचाउने काम भएको थियो।
बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्याङ्जामा २ लाख ४० हजार ५३५ मतदाता थिए। यो संगै अव बाहिरी जिल्लाबाट थपिने वाहेक २ लाख ४६ हजार ९३५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।