स्याङ्जा, ३१ जेठ । स्याङ्जामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असार ७ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै निपेधाज्ञा पुन असार ७ सम्मको लागि थप गरिएको जानकारी दिनुभयो । पहिलोपटक बैशाख २१ गतेदेखि सुरु निषेधाज्ञा असार ७ गतेसम्म पुरयाइएको हो ।
कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारीे गर्ने निर्णय गरेको प्रजिअ नेपालले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर ७ दिने निषेधाज्ञा जारी भएको हो ।
जिल्लामा निषेधाज्ञाका समयमा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न बाहेक अनावश्यक हिँडडुल गर्न नपाइने व्यवस्था छ । अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु बिहान ५ देखि ११ बजेसम्म दिनको एकपटक मात्र खोल्न पाईन्छन् ।
औषधी तथा औषधालयहरु, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैंन् ।
मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा १५ जना भन्दा बढी सहभागी हुन पाइने छैन। सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाइएको छ ।