स्याङ्जा १६ माघ । विपत्तीका बेला मानवीय उद्धारलाई छिटो, छरितो र सहज बनाउने उदेश्यले हरिनास गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग र नेपाली सेना (समरजीत गुल्म) को जनश्रमदानमा हरिनास गाउँपालिका — ४ चुलीडाँडामा हेलिप्याड निर्माण गरिएको हो। नवनिर्मित सो हेलिप्याड हालै सेनाले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । ‘एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण’ गर्ने योजना अनुरुप हरिनासमा हेलिप्याड निर्माण गरिएको गुल्मले जनाएको छ ।
श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका बाहिनीपती सहायकरथी गौरवकुमार केसीले हेलिप्याडको उदघाटनगरी गाउँपालिकाका प्रमुख खिमनारायण मानन्धरलाई हस्तान्तरण गर्नुभएको छ । पक्की सिमेन्टेड संरचनामा बनाइएको हेलिप्याड ६० वाई ६० फिट लम्वाई र चौडाई रहेको छ। गाउँपालिकाको ९ लाख ५५ हजार लगानी भएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
स्याङ्जाको अन्य पालिकाभन्दा हरिनास गाउँपालिकालाई भौगोलिक रुपमा दुर्गम गाउँपालिकाको रुपमा चिनिएको छ ।
गतबर्ष पनि अर्जुनचौपारी गाउँपालिकाको आर्थिक लगानी र सेनाको जनश्रमदानमा यस्तै शैलीको हेलिप्याड निर्माणगरी गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
यो संगै स्याङ्जाका ११ पालिका मध्ये २ गाउँपालिकामा हेलिप्याड निर्माण भएका छन्। हेलिप्याडले स्याङ्जाका हरिनासबासी सहित तनहुँ जिल्लाबासीले सेवा पाउने भएका छन् ।