स्याङ्जा १५ असार । एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसर पारेर असार १५ गते शनिवार नेपाल किसान महासंघ स्याङ्जाले बिरुवा गाउँपालिका १ स्थित बिरुवा फाँटमा धान रोपाई गरेकोे छ ।
खेतालालाई धानको वीउ हस्तान्तरण गरेर धान दिवसको औपचारिकरुपमा सुरुवात गर्दै नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले किसान र कृषि पेशाप्रतिको सम्मानले मात्र आर्थिकोपार्जनसंगै लगानी अनुरुपको अन्न उत्पादन गर्न सकिने बताउनुभयो ।
केही बर्षअघि धान निर्यात गर्ने मुलुक अहिले आयात गर्ने भएकोमा दुखेसो ब्यक्त गर्दै अब पुनः धान निर्यात गर्नेगरी सरकारले किसानका पक्षमा राहत लगायतका बिशेष योजना अघि ल्याउनु पर्नेमा उहाले जोड दिनुभयो । किसानका लागि आवश्यक वीउ, मल, आधुनिक यान्त्रिकरणमा बिशेष छुट सहितको ब्यवस्थापनका लागि स्थानीय सरकार पनि जिम्मेवार बन्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल किसान महासंघ केन्द्रिय सदस्य पवन नेपाल, नेपाली काग्रेस जिल्ला सचिव दामोदर लम्साल, क्षेत्रीय सचिव दिपक रेग्मी, नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिकाका उपसभापति बेलप्रसाद गुरुङ, सचिव शालिकराम काफले, पुतलीबजार १ का सदस्य बिष्णुकुमार श्रेष्ठ लगायतले धान दिवसको शुभकामना सहित धान सहित कृषि उत्पादन बढाउन सकिने खालका यान्त्रिकरण, उन्नत वीउविजन र ब्यवसायिक खेती तथा फलफूल गर्ने किसानलाई सहुलियत ऋणको ब्यवस्थापन गर्नुृपर्नेमा जोड दिन आग्रह गर्नुभयो ।
धान दिवसका अवसरमा १० रोपनी क्षेत्रफलमा रामधान नामको धानको बिउ उत्पादन गर्ने उदेश्य सहित धान रोपिएको अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।
नेपाल किसान महासंघ स्याङ्जाका अध्यक्ष युवराज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय सचिव दिपक रेग्मीले संचालन गर्नुृभएको थियो ।