स्याङ्जा, १ चैत । नेपाल नगरपालिका संघले स्याङ्जाका दुई नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । संघको २९औं बार्षिक उत्सवको अवसर पारेर वालिङ र पुतलीबजारलाई पुरस्कृत गरेको थियो ।
गण्डकी प्रदेशबाट दुई नगरपालिका मात्र उत्कृष्ट घोषित भएका हुन् । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको
हो ।
काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीलाई पुरस्कार प्रदान गर्नु भएको छ।
स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका यसअघि ३ पटक उत्कृष्ट घोषित भइ सकेको छ । नेपाल नगरपालिका सङ्घकै २३औँ स्थापना दिवसका अवसरमा २१७ नगरपालिकामध्ये वालिङ नगरपालिका सर्वोत्कृष्ट भईसकेको छ । नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहरमैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो ।
वालिङ यस अघि गएको बर्ष वालिङ शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको थियो ।