स्याङ्जा २४ माघ । अलपत्र अवस्थामा रहेको सेतीदोभान पुलको निर्माण कार्य सुरु गरिने भएको छ ।
आँधीखोला गाउँपालिका वडा नं ५ र वडा नं ६ जोड्ने गरी निर्माणाधीन सेतीदोभानको मोटरेबल पुल निर्माणका लागि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सरोकारवालाबीच छलफल गराएपछि निर्माण कार्यले गति लिने भएको हो । झण्डै ८ वर्ष अघि शिलान्यास गरिएको सो पुल २ बर्षमा पुरा गर्ने सम्झौता थियो ।
तर, निर्माण ब्यवसायी, सडक डिभिजन कार्यालय पोखराले समयमा चासो नदिदा अहिलेसम्म अलपत्रै अवस्थामा छ । पटक पटक निर्माण कार्य गरिदै भत्काउदै गरिएको सो पुलका बारेमा केही साताअघि प्रजिअ पौडेलले सम्बन्धित सरोकारवाला सबैलाई बोलाएर छलफल गराउनु भएको थियो ।
आज पनि प्रजिअ पौडेल सहितको सुरक्षा निकाय सहितको टोली पुल निर्माण स्थल सेतीदोभानमा पुगेर सरोकारवालासंग छलफल गर्नुभएको थियो ।
छलफलमा स्याङ्जाका प्रजिअ पौडेल, आधीखोला गाउपालिकाका अध्यक्ष सुधिर पौडेल, उपाध्यक्ष शर्मिला पौडेल, सडक कार्याालयका इन्जिनियर पारसमणि हमाल, निर्माण ब्यवसायी ऋषिराम गौतम लगायत पालिका स्तरीय राजनीतिक दल सहित स्थानीय नागरिकबीच सम्बन्धित पक्षले पुल निर्माण कार्य आजैदेखि सुरु गर्ने र यसैबर्ष सम्पन्न गर्ने गराउन प्रतिवद्धता जनाएका छन् ।