काठमाण्डौ ८ कात्तिक । सूडानमा सेनाले सत्ता कब्जा गरेको छ । सूडानी सेनाले प्रधानमन्त्री र अन्तरिम सरकारका अन्य मन्त्रीलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको बताइएको छ ।
सेनाले प्रधानमन्त्री सहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि सरकार विघटन गर्दै देशभर संकटकाल घोषणा गरेको छ । शक्ति बाँडफाँड सम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गर्नुभएको हो । त्यस्तै उहाँले सरकार तथा सङ्क्रमणकालीन परिषद् विघटन गरेको जानकारी समेत गराउनुभयो ।
साथै सेनाले देशको सरकारी टेलिभिजन र रेडियोलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । सूडानको सूचना मन्त्रालयले आफ्नो फेसबुक पेजमा सेनाले विभिन्न मन्त्री र प्रधानमन्त्रीलाई हिरासतमा लिएको जानकारी दिएको बीबीसीले लेखेको छ । सूडानको सूचना मन्त्रालयले हिरासतमा लिइएकाहरूलाई रिहा गर्न सेनालाई अपिल गरेको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार सूडानको राजधानी खार्तूममा इन्टरनेट सेवा बन्द गरिएको छ भने मानिसहरू सडकमा उत्रेका छन् ।