स्याङ्जा ८ असार । पुतलीबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक बिद्यालय गैरीखेतलाई लुमा डिभाईस हस्तान्तरण गरिएको छ । लुमा एजुकेशन र रोटरी क्लव अफ पोखराले विद्यालयलाई एक थान लुमा डिभाईस उपलब्ध गराएको हो ।
उक्त डिभाईस नगरप्रमुख तुलसीराम रेग्मीले प्रधानाध्यापक कृष्णबहादुर गोदारलाई हस्तान्तरण गर्नुभएको छ । नगर प्रमुख रेग्मीले लुमा डिभाईसको प्रयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने भएकोले लुमा डिभाईसको पूर्ण सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
जादुमय बाकस ( म्याजिक बक्स) नाम दिईएको यो डिभाईसमा प्रोजेक्टर, कम्प्युटर, सर्भर तथा व्याट्री समेत जडान गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट स्वीकृत प्राप्त लुमा डिभाईस ईन्टरनेट र विद्युत नहुँदा पनि चलाउन सकिने, विद्यालय तहका सबै कक्षाका सबै विषयहरु डिजिटल माध्यममा शिक्षण गर्न सकिने गरि सामग्रीहरु राखिएको छ ।
लुमा एजुकेशनले विद्यालयमा लुमा डिभाईसको प्रयोग गरी कक्षा सञ्चालन गर्नका लागि छनौटमा परेका विद्यालयका ३ जना विद्यार्थी, ३ जना शिक्षक, पिस कोर स्वयंसेवक र प्रधानाध्यापकलाई ३ दिन तालिम समेत प्रदान गरेको छ । डिभाईसको प्रयोग गरि शिक्षकहरुले पढाउँदा रमाइलो तरिकाले पढ्न र पढाउन सकिने प्रधानाध्यापक गोदारको भनाई छ ।
लुमा एजुकेशनले पिस कोरसँगको समन्वयमा पुतलीबजार र वालिङका एक÷एक बिद्यालयलाई लुमा डिभाईस प्रदान गरेको हो ।