स्याङजा २७ भदौ । असोज ३ गतेका दिन मनाईने संबिधान दिवस स्याङजामा भब्य तथा शभ्य तवरले मनाउने निर्णय भएको छ । संबिधान दिवस स्याङ्जामा ३ दिनसम्म बिबिध कार्यक्रमगरी मनाईने भएको हो ।
असोज २, ३ र ४ गते स्याङ्जाका ११ वटै पालिका सहित स्याङजा सदरमुकाम अर्थात पुतलीबजारमा मनाईने भएको हो । दिवस मनाउने सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तिले संबिधान दिवस सबै ब्यक्तिदेखि सरकारी कार्यालय, प्रतिष्ठान तथा संघसस्थाले मनाउन आग्रह गर्नुभयो ।
पुतलीबजार नगरपालिकाको हलमा आयोजित छलफल कार्यक्रममा समन्वय समितिका उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सुरक्षा निकायका प्रमुखहरु र सरकारी कार्यालयका प्रमुखहरु, उद्योग वाणिज्य संघ, जिल्ला रेडक्रस सोसाइटी लगायतको उपस्थितीमा ३ दिनसम्म बिबिध कार्यक्रम मनाउनेगरी छलफल भएको हो ।
तिनदिने कार्यक्रममा रक्तदान, फरक क्षमताका बालबालिकालाई सहयोगी सामाग्री बितरण, बृक्षरोपण, जेष्ठ नागरिकका स्वास्थ्य परिक्षण, रेडियो कार्यक्रम परिसम्वाद , सरसफाई जस्ता सामाजिक कार्यक्रम गर्ने निर्णय भएको हो ।
यसैगरी, असोज ३ गते बिहान प्रभातफेरि सहितको कार्यक्रम गरिने भएको छ भने ३ दिनसम्म घरघरमा, सवारी साधन र कार्यालयहरुमा राष्ट्रिय झण्डा राख्ने र साँझ दिप प्रज्वलन गरि मनाईनेगरि निर्णय भएको जिल्ला समन्वय अधिकारी उदय पराजुलीले जानकारी दिनुभयो ।