स्याङ्जा २६ बैशाख । अव, स्थानीयपालिकाबाटै श्रमस्वीकृती सेवा लिन सकिने भएको छ ।
स्याङ्जाका दुई नगरपालिकाले श्रमस्वीकृती सेवा उपलब्ध गराउने कार्यको सुुरुवात गर्दै सेवा सुभारम्भ गरेका छन ्।
वालिङ् र भीरकोट नगरपालिकाले यसको सुरुवात गरिसकेको छ। भीरकोटले करिब दुई साताअघि र वालिङ्ले मंगलबारदेखि श्रमस्वीकृती सेवा सुरु गरेको दुबै पालिकाले जनाएका छन । योसंगै, रोजगारका लागि विदेशमा जान चाहनेले स्थानीय पालिकाबाट श्रमस्वीकृती पाउने भएका हुन ्।
यसअघि श्रम स्वीकृती लिनका लागि बिभाग तथा प्रदेश स्तरीय श्रम कार्यालयमा जानुपर्ने वाध्यता थियो। सरकारले यही वैशाख १ गतेदेखि सो सुबिधा अनलाइन माध्यमद्धारा स्थानीय पालिकाबाटै सेवा÷सुबिधा उपलब्ध गराउन सक्ने जनाएपछि पालिकाबाटै श्रमस्वीकृती सेवा उपलब्ध गराएको वालिङ् नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका लागि साउदी अरब जान लागेका वालिङ्का सुजन श्रेष्ठले सो सेवा लिनु भएको छ । उहा पालिकाबाट सेवा लिने पहिलो सेवाग्राही हो ।
श्रमस्वीकृतीपत्र लिदै उनले भने, ‘हामी जस्ता सयोैं युवाका खर्च, समय बचत हुनुका साथै बिभिन्न झन्झटबाट मुक्त हुनेछौें।’ श्रमस्वीकृतीका लागि बिभाग र प्रदेश धाउनुपर्ने वाध्यता हटाएर पालिकालाई जिम्मेवार बनाउदै सेवा उपलब्ध गराउनु भनेको अत्यन्तै राम्रो निर्णय भएको उहाले बताउनुभयो ।
श्रम स्वीकृती पाउनकालागि राहदानी, पासपोर्ट साइजको एउटा फोटो, पारिवारिक विवरण, बैंक खाता (चेक प्रती सहित) ,व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौतापत्र, भिसाको प्रतिलिपी सहित स्थानीयतहको रोजगार सेवा केन्द्र निशुल्क अनलाइन आवेदन दिन सकिने प्रावधान छ ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृति प्रक्रिया अगाडिबढ्ने र श्रम स्वीकृतिपत्र अनलाइनबाटै हुने भीरकोटका नगरप्रमुख गोबिन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
आवेदन स्वीकृत वा अस्विकृत भएको पनि अनलाइन मार्फत सेवाग्राहीले थाहा पाउन सक्नेछन । भने, स्थानीय तहमा स्थापित रोजागार सेवाकेन्द्रबाट पनि थप जानकारी लिन सकिनेछ ।