स्याङ्जा २६ वैशाख । वालिङ नगरपालिकाबाट श्रम स्वीकृत दिन शुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भएसँगै वालिङ नगरपालिकाले श्रम स्वीकृति दिन शुरु गरेको हो ।
सोमबार वालिङ नगर प्रमुख कृष्ण खाँणले वालिङ १३ का सुरज श्रेष्ठ पुनः श्रम स्वीकृति प्रदान गरी सेवाको शुभारम्भ गर्नुभएको हो । वैदेशिक रोजगारीमा साउदी अरब जान लागेका श्रेष्ठलाइ पालिकाबाटै पहिलो श्रम स्वीकृति सेवा प्रदान गरिएको रोजगार संयोजक पवन वस्यालले जानकारी दिनुभयो ।
यस अघि श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरूवात भए पश्चात् स्थानीय तहबाटै वैशाख १ गतेदेखि उक्त सुविधा प्राप्त हुन थालेको हो ।
श्रम स्वीकृती लिनको लागि राहदानी , एक प्रती पासपोर्ट साइज फोटो, पारिवारिक विवरण , बैंक खाता (चेक प्रती सहित) ,व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र , भिजाको प्रतिलिपी सहित स्थानीय तहको रोजगार सेवा केन्द्र निशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक वस्यालले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ । आवेदन स्वीकृत भएको वा आवश्यक विवरणहरू अपुग भएको जानकारी पनि अनलाइन मार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्छ्न् । श्रम स्वीकृति सम्बन्धमा थप जानकारी स्थानीय तहको रोजागार सेवाकेन्द्रबाट पनि लिन सकिन्छ ।