स्याङ्जा १ असार । दुध तथा दुधजन्य पदार्थमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित वालिङ नगरपालिकाले उन्नत (जर्सी÷होलस्टन) गाई पाल्ने किसानलाई ५० प्रतिशत अनुदानको सुबिधा उपलब्ध गराएको छ ।
नगरपालिकाका मापदण्ड पुरा गरेका सामुहिक तथा फर्मलाई ५० प्रतिशत अनुदान दिएको हो। पालिकाले प्रति एक गाईको ५० हजार रुपैया अनुदान दिएको हो । दैनिक १५ लिटर दुध दिने होलिस्टन तथा जर्सी जातका गाई खरिद गर्ने किसानलाई सो सुबिधा पाएका छन ।
नगरप्रमुख कृष्ण खाँणले ३ समूहका ३० वटा गाई खरिदका लागी १५ लाख रुपैँयाको चेक प्रदान गरेका छन्। वालिङलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता अभियान सुरु गरेको उहाले बताउनुभयो । किसानको परिश्रमको सम्मान सहित उत्पादलाई उद्यमशिलतामा जोड्न सकेमात्र नगरको विकासले गति लिने प्रमुख खाँणको भनाई छ ।
वालिङ — १३ स्थित मिलन दुग्ध उत्पादन सहकारी लिमिटेड, वालिङ — ८ स्थित अकला नमुना साना किसान कृषि सहकारी लिमिटेड र वालिङ् १ स्थित उन्नत गाईपालन समूहलाई सो सुबिधा पाएका हुन । मिलन सहकारीले १० वटा, अकलाले ५ वटा र उन्नतले १५ वटा गाई खरिद गर्ने जनाएका छन्। यहाँ १२ जना किसानले ती गाई पालन गरेका हुन ।
पालिकाले तोकेका मापदण्डका आधारमा सार्वजनिक सूचना जारी भएपछि आएका किसानका निवेदनलाई पालिकाका टोलीले अनुगमन तथा मूल्यांकनपछि सो रकम उपलब्ध गराईने उपप्रमुख कबिता तिवारीले बताउनुभयो । यसवर्ष ७२ वटा गाईको अनुदान रकम उपलब्ध गराइने भएको उपप्रमुख तिवारीले जानकारी दिनुभयो ।