स्याङ्जा ३० पुस । वालिङमा डायलाईसिस सेवा सञ्चालनमा ल्याईने भएको छ । वालिङ नगरपालिका १० मा डायलाईसिस सेन्टर सञ्चालनमा ल्याउन लागिएको वालिङ सामुदायिक डायलाईसिस सेन्टरको सम्पूर्ण काम सम्पन्न भएको छ ।
रोटरी क्लव अफ वालिङ, वालिङ नगरपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेन्टर सञ्चालनमा आउने भएको हो । रोटरी क्लव अफ वालिङको प्रस्तावनामा रोटरी ईन्टरनेसनलले डायलाईसिस सेन्टर सञ्चालनका लागि रु ५ करोड ५३ लाख उपलव्ध गराएको थियो । डायलाईसिस सेन्टरको सम्पूर्ण तयारी पुरा भएको र माघको पहिलो हप्ताबाट नै सेवा प्रवाह शुरु गर्ने रोटरी क्लव अफ वालिङका अध्यक्ष युवराज पाठकले जानकारी गराउनु भयो ।
वालिङ नगरपालिकाले उपलव्ध गराएको भवनलाई मर्मत गरेर सेन्टरको रुपमा परिणत गरिएको अध्यक्ष पाठकले बताउनु भयो । बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको मृगौला डायलाईसिस सेन्टरमा ११ वटा मेसिन जडान गरिने छ । अहिले ८ वटा मेसिन जडान भईसकेको छ । सेन्टर सञ्चालनको शुरुमा नै दैनिक १६ जना मृगौलाका बिरामीले डायलाईसिस गर्न सक्ने बताइएको छ। ।
मृगौला डायलाईसिस सेन्टरलाई नगरपालिकाले सहयोग र समन्वय गदै आएको बताउदै वालिङ नगरप्रमुख दिलिप प्रताप खाँणले बिभिन्न संघसंस्थाले शुरु गरेका प्रशंसनीय कामलाई स्थानीय सरकारले उच्च मुल्याङ्कन गर्ने बताउनु भयो । उहाँले सेन्टरको सञ्चालनका लागि स्थानीय सरकारले आवश्यक सहयोग र सहकार्य गर्ने जानकारी दिनुभयो ।
सेन्टरमा भेन्टिलेटरको पनि व्यवस्था छ । एक मृगौला बिरामीलाई एकपटक डायलाईसिस गर्न चार घण्टा लाग्ने र डायलाईसिस सेवा निशुल्क रुपमा उपलव्ध हुने अध्यक्ष पाठकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले प्रत्येक डायलाईसिस गर्ने बिरामीको रेकर्ड राखेर सरकारलाई पठाउछौं,सरकारले प्रति व्यक्ती रु दुई हजार पाँच सय उपलव्ध गराउनेछ । बिरामीको तर्फबाट कुनै शुल्क लाग्दैन ।’ सेन्टरमा बिशेषज्ञ चिकित्सक सहित ११ जना स्वास्थ्यकर्मी कार्यरत रहनेछन्।