स्याङ्जा १० चैत । बालिङ नगरपालिका ११ स्थित छत्तिवनमा शनिवार (आज) जीप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् ।
घाइते नौमध्ये चार जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र बाँकी पाँच जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार हुनेमा जीप चालक वालिङ नगरपालिका वडा नं ११ जोहानखोला बस्ने ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, छत्युन बस्ने १९ वर्षीय नम्रता खत्री, वडा नं १० बस्ने ३२ वर्षीय सुकमाया सुन्धौली र सुन्धौलीको १३ वर्षीय छोरा संगम सुन्धौली रहेका छन् । त्यसैगरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएकोमा वालिङ नगरपालिका ११ छत्युन बस्ने ७७ वर्षीय रन बहादुर मगर, ७५ वर्षीय लाटी मगर, जुहानखोला बस्ने ३६ वर्षीय हुमकला पंगेनी, भकभका बस्ने १७ वर्षीय करिना खवास र भीरकोट नगरपालिका ५ स्वरेक बस्ने ३० वर्षीय विन्दु खवास रहेका छन् ।
वालिङ नगरपालिका ११ छत्युनस्थित भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको बलेरी जीप शनिबार दिउँसो दुर्घटना भएको थियो । ब्रेक फेल भई दुर्घटना भएको जीप सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले बताएको छ ।