स्याङ्जा २२ पुस । वालिङ नगरपालिकामा रहेको मेलमिलापकर्ताहरुका लागि उच्चस्तर (एडभान्स) तालिम सुरु भएको छ । प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।
तालिमको शुभारम्भ गर्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले गाउँगाउँमा हुने गरेका विभिन्न प्रकृतिका विवादमा मेलमिलाप गराउने काम भईरहेको बताउनु भयो । विभिन्न विवादमा मेलमिलापकर्ताको सकारात्मक भूमिका रहनु पर्ने भन्दै उपप्रमुख तिवारीले निस्वार्थभावले गरिने मेलमिलापकर्ता नगरका गहना भएको बताउनु भयो । वालिङ नागरिकको न्यायिक समिति र मेलमिलापकर्ताहरु प्रति विश्वास रहेका कारण वालिङले यसमा पहिचान बनाएको बताउनु भयो ।
आगामी दिनमा मेलमिलापकर्ताको सक्रियता र भूमिकालाई अझै प्रभावकारी बनाउदै लैजाने उहाँको भनाई छ । कार्यक्रममा बोल्दै न्यायिक समितिका सदस्य पोतप्रसाद लम्साल,वालिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद अर्यालले मिलामिलापले मात्रै समाजमा एकआपसमा सहकार्य गर्ने अवस्था आउने बताउनु भयो ।
वालिङ नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता नेत्रप्रसाद सुवेदीले नगरपालिकामा एक सय एक मेलमिलापकर्ता रहको जानकारी दिनुभयो । पाँच दिन सम्म सञ्चालन हुने तालिममा रमिला हुमागाई र रिता मानन्धरले सहजीकरण गर्नु हुनेछ । तालिममा ३० जनाको सहभागिता रहेको छ ।