स्याङ्जा १७ कात्तिक । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक । आज बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि सुरु हुनेछ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।
सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि आज नै गर्नु पर्ने भएको हो । तिथिको घटबढका कारण काग र कुकुर तिहार आज एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यमपञ्चकको दोश्रो दिन आज काग तिहार मनाइदैछ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । तर, यसबर्ष काग र कुकुर तथा नरक चर्तुदशी आजै परेको छ । काग तिहारमा कागलाई यमराजको सन्देश बाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।
र, मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित छ कुकुर । आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पूजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ । ऋगवेदमा स्पष्ट रूपमा ’समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उहाको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा मानिन्छ ।