स्याङ्जा २५ जेठ । मानवअधिकारकर्मी एवं मानवअधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीको कबिता संग्रह प्रकाशित भएको छ ।
पहाडीका “जलमा हलचल सूक्ष्मको” नामक कबिता संग्रह मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो । उहाँको यो ३० औं प्रकाशित पुस्तक हो ।
संग्रहमा ६२ वटा कबिता छन् । पृथक तरिकाले लेखिएका अधिकांश कबिता जीव, जगत र प्रकृतिका अन्तरसम्बन्ध बारे छन् । विज्ञान र ज्ञानका बारेमा पनि कबिता लेखिएको छ । ब्रम्हाण्ड, अन्तरिक्ष, तारा र ग्रहहरुका बारेमा समेत लेखिएका छन्। जसले हामीलाई ज्ञान बिज्ञानका बारेमा जानकार गराउन सक्दछ ।
कुनै कबिता मृत्युकालिन अवस्था त कुनैमा मृत्युपश्चातको कल्पनातित अनुभुति चित्रण गरिएका छन् ।
जगत्मुखी, जीवनमुखी र सेवामुखी उद्देश्यले स्वयंसेवीभावले मानव अधिकार तथा शान्ति समाज क्रियाशील रहेको जनाउदै अधिकारकर्मी पहाडीका कविता पनि सोही भावनुरुप निर्दिष्ट रहेको मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले जानकारी दिनुभयो ।
सभापति खनालले भन्नुभयो, ‘समग्रमा भन्नुपर्दा संस्थापक सभापति एवं मावअधिकारकर्मी पहाडीद्वारा लिखित यो कविता संग्रह पृथक र अत्यन्तै उपयोगी छ ।’
शान्ति समाजका २ जना सदस्य तथा शुभचिन्तकको सहयोगमा प्रकाशित यो कबिता संग्रह प्रति पुस्तक मुल्य २ सय रुपैंया तोकिएको छ । पुस्तक विक्रिबाट हुने सम्पूर्ण आम्दानी भने मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन खरिद तथा निर्माणमा सहयोग गर्नेगरी उपलब्ध गराईको स्रष्टा एवं मानवअधिकारकर्मी कृष्ण पहाडीले जानकारी दिनुभयो ।
बिभिन्न बिधामागरी प्रकाशित २ दर्जनभन्दा बढी पुस्तकलाई पहिलो पारीको अभिलेख मान्ने गरेता पनि यसलाई दोश्रो पारीको पहिलो कृतिका रुपमा “जलमा हलचल सूक्ष्मको” लाई लिएको अधिकारकर्मी पहाडीले जनाउनुभयो ।
कबिता संग्रह पुस्तकमा प्रकाशित एक कविता
“संहार ब्रम्हाण्डको”
तातो भकभकी उम्लिएर पिँधमा विद्रोह जन्मेपछि
आगो ह्वारह्वार दन्किएर नभमा बिजुली चम्केपछि
ज्वाला तनतनी तन्काएर प्रकृति बिगुल घन्केपछि
कम्पकम्प चिराचिरा भई धरा धूलोले ढाकेपछि ।
पानीपानी जताततै जगत्मा प्रलय पथको घडी
बग्यो बीज सबै समस्त चिजको एउटा रहेन धरी
डुबे वृक्ष सबै, वनस्पति डुबे, तैरिन थाल्यो जरा
डुबे पर्वत शृङ्खलाहरू सबै, डुबिन् वसुन्धरा
डुब्यो सृष्टि सकल, मियो पनि डुब्यो, अन्योल कठै बरा !
कहिलेसम्म डुबिरहन्छ जलमा ? ढाडिन्छ कि यो धरा ?
उल्का पिण्ड अति भ्रमित भई कति झरे निरन्तर भने
ग्रह ग्रन्थि असन्तुलित हुन गई जुधे परस्पर भने
धूलो–धूवाँ जताततै कणहरू, विनाश र ध्वंसको
सौर्य आँधी चली डढ्यो जगत् भने साम्राज्य विध्वंसको ।
रातो बिम्ब कतै लुक्यो खोकिलामा गर्छु म विश्राम भनी
तातो बिम्ब कतै फुटयो क्षितिजमा फेरि नजुट्ने गरी
सग्लो छैन कतै कहीँ जगत् यो, नासियो हराभरा
सातोपुत्लो गयो समस्त जीवको, निर्जीव भयो धरा ।
चिसो पिण्ड भई जम्यो जगत् त्यो, निष्प्राण कठैबरा !
कहिलेसम्म जमिरहन्छ अनमोल, पग्लिन्छ कैले धरा ?
तारामण्डल सङ्कुचित हुन गई निरन्तर खुम्च्यो भने
आकाशगङ्गाविषे भिडन्त हुन गई विनाश निम्त्यो भने
कर्षण–घर्षण त्यो विकर्षण भई गुरुत्व खस्यो भने
अन्तरिक्ष कतै अशान्त हुन गई सङ्ग्राम मच्यो भने ।
काला प्वालहरू कलुषित भई सर्लक्क निले भने
काला प्वालहरू अझ कतिकति खर्लप्प मिले भने
गुह्य पुर्जाहरू सघन हुन गई अँध्यारो फ्याँके भने
गहिरो ऊर्जा झनै गहन हुन गई ढपक्क ढाके भने
विस्फोट हुन गई विभाजित अनेक कणकण त्यो पदार्थको
महाविस्फोट यदि हरेक कणमा संहार ब्रह्माण्डको ।
कम्प–परकम्प निरन्तर कति त्यो शून्यको गर्भमा
हलचल तीव्र अति भए कतिकति, त्यो शून्यको सत्य हो
शून्य–उपशून्य कथा–उपकथा अनेक ब्रह्माण्डको
विस्फोटपछि जसै विस्तारित हुँदै यात्रा यो ब्रह्माण्डको ।
एउटा विन्दु चुमी आरोहणसरि आराध्य अनन्तको
फेरि सूक्ष्मतिरै पूर्वस्वरुपमा फर्किन थाल्यो भने
कणकण अनेक विभक्त हुन गई विनाश सब गणको
विस्थापित हुँदै शनैःशनैः सबै संहार ब्रह्माण्डको ।
विस्तार भन्छन् यो निरन्तर सधैँ ब्रह्माण्ड अहिले पनि
विस्तार असीमित अनन्त पथमा धान्नै नसक्ने गरि
रफ्तार तीव्र भई अनन्त तटमा बेलुनझैँ फुटयो भने
महाप्रलयको घडी हुने छ त्यो संहार ब्रह्माण्डको ।