स्याङ्जा २६ भदौ । अल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपालको चौथो अधिवेशन तथा साधारणसभा सोमबार स्याङ्जा सदरमुकाम स्थित सिटी हलमा सम्पन्न भएको छ ।
अधिवेशनको उदघाठन गर्दै पूर्व कर्णैल कृष्णबहादुर क्षेत्रीले भारतीय पूर्वसैनिकका हक, हित र अधिकार प्राप्तिका लागि सबै भूपूहरु एकजुट हुनु पर्ने बताउनुभयो । जबसम्म हामी एकजुट हुन सक्दैन, तबसम्म हाम्रा आवाज सुनिदैन उहाले भन्नुभयो ।
भूपूहरुका समस्या समाधानका लागि आफु सधै तत्पर र क्रियाशिल रहेको उहाले बताउनुभयो । हजारौंका संख्यामा रहेका भूपूहरुका सीप, क्षमतालाई राज्यले पहिचान गर्न नसकेको उहाको भनाई छ ।
भारतीय पूर्वसैनिक र परिवारले राज्यले उपलब्ध गराएको सेवा र सुबिधा लिन कठिनाई झेल्नु परेको बताउनुभयो । हजारौंका संख्यामा रहेका भूपूका समस्या बुझनका लागि मुलुक संचालन गर्ने कानून र नीति बनाउने स्थानमा भूपूको प्रतिनिधित्व आवश्यक रहेको उहाले औल्याउनुभयो ।

कार्यक्रममा पूर्व मेजर रामसिंह थापा, पूर्व क्याप्टेन लुलाराम तामाङ, पूर्व हवल्दार कृष्ण पौडेल लगायतले शुभकामना सहित भूपूले पुरयाउदै आएको योगदानका बारेमा चर्चा गर्दै शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा अध्यक्ष गजबहादुर थापाले संघ स्थापनाको आवश्यकता, औचित्य र भावी योजनाका बारेमा जानकारी गराउदै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कोषाध्यक्ष चोलाकान्त अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष गजबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण पौडेलले स्वागत एवं सचिव भानबहादुर कुवरले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा भूपू सैनिक परिवार र जेष्ठ भूपूहरुलाई समेत सम्मान गरिएको थियो । अल भारतीय पूर्व सैनिक कल्याणकारी संघमा आजिवन तथा संस्थापकगरी झण्डै १ हजार ५ सय सदस्य आवद्ध रहेको संघले जनाएको छ ।

यसैगरी, अधिवेशनले पुनः गजबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिवमा भानबहादुर कुवर, कोषाध्यक्षमा चोलाकान्त अर्याल, सहसचिवमा तेजप्रसाद गौतम, सहकोषाध्यक्षमा केशरबहादुर अधिकारी निर्वाचित हुनु भएको छ ।
यसैगरी, सदस्यहरुमा सुवेदार धनराज केसी, सुवेदार कुलबहादुर गोदार, सुवेदार ओमबहादुर थापा, इन्द्रबहादुर मास्की राना लगायत चयन हुनु भएको निर्वाचन समितिका संयोजक नारायणप्रसाद तिवारीले जानकारी दिनुभयो ।
