स्याङ्जा १० माघ । भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले भीरकोट नगरपालिकाको बजेट पूर्ण रूपमा सदुपयोग भएको बताउनुभएको छ । नवौं नगर सभाको समापन गर्दे उहाले सिमित स्रोत र साधन प्रयोग गरेर जनताका असिमित आवश्यकता पूरा गर्ने प्रयास गर्दा कमीकमजोरी भएको हुन सक्छ तर बजेटको पनि सहीसदुपयोग गरेको उहाले भन्नुभयो । नगर प्रमुखको जिम्मेवारी सम्हालेदेखि बजेट र करमा १ रूपैयाँ पनि हिनामिना भएको भए प्रती १ रूपैयाँ रू १ लाखका दरले क्षतिपूर्ति दिन तयार उहाले भन्नुभयो ।
नगरपालिकामा बसेको नवौं नगरसभाले दुइवटा प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ। विधायन समितिका संयोजक दिपेन्द्र के.सी.ले प्रस्तुत गर्नुभएको नगर यातायात गुरूयोजना र नगर सभाका उपाध्यक्ष एवं नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यले प्रस्तुत गर्नुभएको बजेट विनियोजन र स्रोत व्यवस्थापनको संशोधित अनुमान सर्वसम्मत पारित भएको हो। नगर सभामा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा हालसम्म प्राप्त गरेका सफलता र अनुभव प्रस्तुत गर्नुभएको थियो।
वडा नं ४ का वडा अध्यक्ष चन्द्र बहादुर बस्नेतले नगर कार्यपालिकामा सबै जनप्रतिनिधिहरूले पार्टीको विचार र दलीय स्वार्थभन्दा माथि उठेर काम गरेकाले काम गर्न सहज भएकोमा खुसी व्यक्त गर्नुभएको थियो। वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र के.सी, वडा नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले गर्नुभएको थियो।