स्याङ्जा ३१ बैशाख । भीरकोट नगरपालिकाका फरक क्षमता भएका ३१ जनालाई उन्नत जातका बाख्राका पाठी निशुल्क उपलब्ध गराइएको छ। नगरपालिका अन्र्तगतका ९ वडाका विपन्न बर्गका फरक क्षमता भएका ब्यक्तिलाई पाठी प्रदान गरिएको हो ।
नगरभित्रका फरक क्षमताका ती ब्यक्तिका आयआर्जनमा सहयोग पुरयाउने उदेश्यले निशुल्क रुपमा पाठी प्रदान गरिएको हो । नगरप्रमुख गोविन्दकुमार कर्माचार्य र अपांग समाज भीरकोट नगरपालिकाका अध्यक्ष श्यामप्रसाद अर्यालले पाठी हस्तान्तरण गर्नुभएको हो ।
न्यून आय भएका ब्यक्तिलाई लक्षित गर्दै उनीहरुका जिविकोपार्जनमा सहयोग पुरयाउने लक्ष्य सहित खरि र स्थानीय क्रस जातका बाख्राका पाठी प्रदान गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । पाठी हस्तान्तरण गर्दे प्रमुख कर्माचार्यले भन्नुभयोे, ‘उन्नत जातका यि पाठी हुर्काउनुहोस्, मेहनतगरी बगाल बढाउनुहोस्, आयआर्जन बढ्नेछ। राम्रो गर्दे जानुभयो भने तपाईलाई आवश्यक सहयोग गर्न नगरपालिका तयार हुनेछ।’
सोही कार्यक्रममा उपप्रमुख भगवती अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता दिपेन्द्र केसी, योजना शाखा प्रमुख यामप्रसाद रेग्मी र पशु प्राबिधिक थानप्रसाद तिवारी लगायतले बाख्रा पालन र यसका उपयोगिताका बारेमा जानकारी गराउदै गाउँघरमा बाख्रापालनका सहजरुपमा गर्न सकिनेमा जोड दिनुभयो ।
भीरकोट नगरपालिकाले उपलब्ध गराएको २ लाख १० हजार बजेट मार्फत पाठी खरिदगरी प्रदान गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।