स्याङ्जा २१ असार । स्याङ्जाको विरुवा गाउँपालिकालाई बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएकोे छ । घोषणा भएसंगै सो पालिका स्याङ्जाको पहिलो र संभवत ः गण्डकी प्रदेशको पनि पहिलो बालश्रम मुक्त गाउँपालिका बनेको छ ।
गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले बिरुवालाई पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि बालश्रम मुक्त राख्ने अभियानलाई निरन्तरता दिइने बताउनुभयो । बालश्रम मुक्त बनाउनका लागि आवश्यक सबै सुचक र मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरिएको अध्यक्ष कुवँरले जानकारी गराउनुभयो पालिकाभित्रका सबै ८ वडा वडालाई क्रमश, बालश्रम मुक्त गर्दै सिंगो गाउँपालिकालाई आज बालश्रम मुक्त गरिएको उहाले भन्नुभयो ।
‘घर, बिद्यालय, पसल, होटल, उद्योग, ब्यवसाय, व्यापारिक संस्था, कार्यालय लगायतका क्षेत्रमा १८ बर्ष भन्दा कम उमेरका बालबालिका श्रमिकका रुपमा राखिएका छैनन्। जोखिमपूर्ण काम गरेका छैनन्’ अध्यक्ष कुवँरले भन्नुभयोे, ‘बालश्रममा भए नभएको बिषयमा चरणबद्ध अभियान र अध्ययन अनुगमन गर्नुका साथै बालश्रम नगर्न र नगराउनेगरी प्रतिबद्धता सहित बाल श्रममा लगाउन नहुने बारेमा पालिकाबासीलाई सचेत एवं जानकारी गराएका छौं।’
सबै बालबालिकाले विद्यालयमा पढ्न पाउनुका साथै बालअधिकारबाट बंचित गर्न नहुनेमा समेत सूचित गराएको उहाले भन्नुभयो । विरुवा गाउँपालिकाका ८ वटै वडाबासीले बालबालिकालाई श्रममा लगाउँदैनौं र बालअधिकार सुनिश्चितता गछौं भनेर प्रतिवद्धता पनि जनाइसकेका छन् ।
‘बालश्रम नगरौं, नगराऔं, बालश्रम कानून विरुद्धको कार्य हो। बालश्रम दण्डनीय अपराध हो।’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर बिरुवा बजार परिक्रमागरी पालिकामा आयोजित औपचारिक कार्यक्रम मार्फत बालश्रम मुक्त घोषणा गरिएको हो ।
बिरुवा गाउँपालिकाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद र गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशनको समन्वय तथा सहकार्य विरुवा गाउँपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गरिएको उपाध्यक्ष भगवती शर्माले जानकारी दिनुभयो ।
बिरुवा गाउँपालिकामा झण्डै बालश्रम कार्यबिधि २०७७ अनुरुप बिभिन्न ७ वटा सूचक र २० उपसूचक पुरा गरेपछि पालिकालाई बालश्रम मुक्त भनी औपचारिकरुपमा घोषणा गरिएको हो । पालिकामा बिद्यालय जाने उमेरका झण्डै २ हजार ४ सय बालबालिका रहेको पालिकाका पञ्जीकरण शाखा प्रमुख एवं स्थानीय बालकल्याण अधिकारी जनक भण्डारीले जानकारी दिनुभयो ।