स्याङ्जा ११ जेठ । पुतलीबजार नगरपालिका वडा नं. ८ बहाकोट भन्ज्याङमा शुक्रवार ७४ औं क्रान्ति दिवस मनाइएको छ ।
दिवसको उदघाटन गर्दे नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक जिल्ला सभापति बुद्धिबहादुर राना (कुमार)ले होविर आले महान योद्धा रहेको बताउनुभयो । प्रजातन्त्र र लोकतन्त्रका कुशल संगठक आलेका योगदानको चर्चा गर्नुभयो । उहाले २००७ सालमा नेपाली काँग्रेसले प्रजातन्त्रका निम्ति खडा गरेको मुक्ति सेनाका योद्धा होविर आले र जसको नेतृत्वमा गठित मुक्ति सेना बिरुद्ध २००७ साल जेष्ठ ११ गते बहाकोटमा तत्कालीन राणाको फौजले आक्रमण गर्दा बहाकोटका साहसी स्थानीयबासीको प्रतिकारले आक्रमणकारी भगाउन सफल रहेको स्मरणमा आजका दिनलाई क्रान्ति दिवसका रुपमा मनाइने गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा पुतलीबजारका उपप्रमुख देवी अर्यालले रैतिबाट नागरिक बनाउने अभियानमा होविर आलेको महत्वपूर्ण भूमिका रहेको जनाउदै प्रजातन्त्रका निम्ति आफनै जीउ धन नै अर्पण गर्ने होविर आले लगायतका वीर विरंगानाको योगदानलाई विर्सन नहुने बताउनुभयो ।
सोही कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तारा मल्ल, महाधिवेशन प्रतिनिधी धनकुमारी थापा, नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय उपाध्यक्ष मोतीप्रसाद आले, पुतलीबजार १ का सदस्य विष्णुप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस वडा सभापति प्रेमबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पाटीका वडा सभापति रामबहादुर गुरुङ, नेशनल मंगोल अर्गानाइृजेशनका जिल्ला सदस्य सूर्यबहादुर थापा लगायतले क्रान्ति दिवसका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
कार्यवाहक वडा अध्यक्ष टोलमाया थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य रवि सेनले स्वागत एवं वडा सचिव कुलप्रसाद मरासिनीले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा नु बहाकाटमा अध्ययरत छात्राहरुले नृत्य प्रर्दशन गरेका थिए ।