काठमाण्डौं ५ माघ । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज (मंगलबार) भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफले उपाधि हात पारेको हो ।
उपाधिसँगै एपीएफले नगद पाँच लाख समेत प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले भने तीन लाख प्राप्त गरेको छ । सेमिफाइनल पुगेका आर्मी र बागमती प्रदेशले ५०÷५० हजार पाएका छन् । टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । यसअघि एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रधानमन्त्री कप यस पटक भने टी–ट्वान्टी ढाँचामा भएको हो । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।