स्याङ्जा १४ फागुन । राष्ट्रिय मगर दिवस अर्थात ४२ औं स्थापना दिवसको अवसर पारेर पुतलीबजार नगरपालिकाले भोली फागुन १५ गते सार्वजनिक बिदा दिएको छ ।
पुतलीबजार नगर नगर कार्यपालिकाको आज बसेको बैठकले नगर कार्यपालिका कार्यालय र यस अन्र्तगत रहेका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं संस्थागत बिद्यालयहरु, स्वास्थ्य संसथ तथा नगरपालिका क्षेत्र भित्र संचालित बैंक तथा बित्तिय संस्था र संघ संस्थाहरुमा समेत लागु हुनेगरी सो दिन बिदा दिएको हो ।
साथै मगर दिवसको उपलक्ष्यमा नगर प्रमुख तुलसीराम रेग्मीले देश तथा विदेशमा रहनुहुने पुतलीबजार नगरवासी आमा, बुवा, दाजुभाई, दिदीवहिनी तथा सम्पूर्ण नेपालीहरुमा सुख शान्ति समृद्धिको एवं उत्तरोत्तर प्रगतीको शुभकामना सोही सूचना मार्फत दिनुभएको छ ।
यसैगरी, स्याङ्जाका भीरकोट, वालिङ, गल्याङ, चापाकोट नगरपालिका सहित हरिनास, विरुवा, कालीगण्डकी गाउपालिकाले पनि यसअघि नै आ आफना पालिका मार्फत सूचना प्रकाशित गर्दै मगर दिवसको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरिसकेका छन् ।