स्याङ्जा १९ असार । पुतलीबजार नगरपालिका २ मा बुधवार मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
केन्द्र स्थापनाको औपचारिक घोषणा गर्दै वडाअध्यक्ष भीमबहादुर गुरुङलाई मलमिलाप केन्द्रका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्दै नगरउपप्रमुख देवी अर्यालले वडाभित्र रहेका देवानी प्रकृतिका मुद्धालाई वडामा मिलाउने उदेश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो ।
वडाका समस्यालाई वडामा समाधान गरेर न्याय दिलाउनु भनेको पुण्यको कार्य भएकाले दुबै पक्षलाई जीतको अनुभूत गराउनेगरी न्याय दिन सुझाव दिनुभयो । उहाले मेलमिलापकर्तालाई सथप खुवाउनुभएको थियो ।
कार्यक्रममा वडाअध्यक्ष भीमप्रसाद गुरुङ, नगर स्तरीय न्यायिक समिति सदस्य कमला गुरुङ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सहजकर्ता रचना गुरुङ र रेशमबहादुर क्षेत्री लगायतले मेलमिलापकर्ता निष्पक्ष भएर समस्या सुल्झाउनुपर्नेमा जोड दिनुभयो । न्यायिक समिति शाखा प्रमुख सृजना लामिछानेले सहजकर्तालाई आचार संहिताका बारेमा जानकारी गराउनुभएको थियो ।
पुतलीबजार नगरपालिकाले वडा बडामा रहनेगरी मेलमिलाप सहजकर्तालाई ४८ घण्टे मेलमिलापकर्ता उत्पादन गर्ने उदेश्य अनुरुप प्रशिक्षण दिएको थियो । सोही प्रशिक्षणपछि वडा नं २ मा ३ जना मेलमिलापकर्ता सूचिकृत हुनु भएको छ ।
वडा नं. २ मा रेशमबहादुर क्षेत्री, रचना गुरुङ र प्रमिला नेपाली मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ ।