स्याङ्जा १७ असार । पुतलीबजार नगरपालिका १ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडाभित्र रहेका देवानी प्रकृतिका मुद्धालाई वडामा मिलाउने उदेश्य सहित मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।
केन्द्र स्थापनाको औपचारिक घोषणा गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले कुनै ब्यक्तिका पक्ष विपक्षमा नलागी वास्तविक पिडितलाई न्याय दिलाउने काम गर्न सुझाव दिनुभयो । उहाले दुबै पक्षलाई जीत जीतको अनुभूति गराई समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।वडाभित्रका समस्यालाई सकभर वडाभित्रै मिलाउने उदेश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताउदै उहाँले नगरपालिका भित्रका १४ वटै वडामा पनि क्रमश ः मेलमिलाप केन्द्र स्थापना गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, नगर स्तरीय न्यायिक समिति सदस्य कमला गुरुङ र सुरेन्द्र केसी, मेलमिलाप सहजकर्ता संयोजक छायादत्त सापकोटा लगायतले मेलमिलापबाट न्याय दिलाउने प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । उपप्रमुख देवी अर्यालले अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन न्यायिक समिति शाखा प्रमुख सृजना लामिछानेले गर्नुभएको थियो ।
करिब दुई महिनाअघि पुतलीबजार नगरपालिकाले वडा बडामा रहनेगरी मेलमिलाप सहजकर्तालाई साताब्यापी प्रशिक्षण दिएको थियो । सोही प्रशिक्षणपश्चात वडा नं १ मा ५ जना मेलमिलापकर्ता छन् ।
उपप्रमुख देवी अर्यालले सहजकर्तालाई सपथ खुवाउनु भएको थियो भने सदस्य सुरेन्द्र केसीले आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो । वडामा छायादत्त सापकोटा, इन्द्रेणी अधिकारी, देवी पौडेल, शान्ता पौडेल, दुर्गा पौडेल मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ ।