स्याङ्जा १ जेठ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भएसँगै पुतलीबजार नगरपालिकाले पनि सोमबारदेखि श्रम स्वीकृति दिन थालेको छ ।
नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका वडा नं ४ निवासी लोबहादुर सुनारलाई आजै पुनः श्रम स्वीकृति प्रदान गरेर सो सेवाको शुभारम्भ गर्नुभएको हो । वैदेशिक रोजगारीमा जान लाग्नु भएको सुनारले आफनै पालिकाबाटै पहिलो श्रम स्वीकृति सेवा पाउदा निकै खुशी लागेको बताउनुभयो ।
यसअघि श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्विकृतिका लागि अनलाइन प्रणालीको सुरूवात भए पश्चात् स्थानीय तहबाटै वैशाख १ गतेदेखि उक्त सुविधा आफनै पालिकाबाट पाउने ब्यवस्था भएपछि रोजगारीका लागि विदेशमा जानेहरुका लागि निकै सजिलो बनेको छ ।
श्रम स्वीकृती लिनको लागि राहदानी, एक प्रती पासपोर्ट साइज फोटो, पारिवारिक विवरण, बैंक खाता (चेक प्रती सहित), व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, भिजाको प्रतिलिपी सहित स्थानीय तहको रोजगार सेवा केन्द्र निशुल्क अनलाइन आवेदन दिन सकिने ब्यवस्था छ ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृति पत्र अनलाइनबाटै पाउन सकिन्छ । आवेदन स्वीकृत भएको वा आवश्यक विवरणहरू अपुग भएको जानकारी पनि अनलाइन मार्फत नै सम्बन्धित सेवाग्राहीले थाहा पाउन सक्छन् ।