स्याङ्जा, १९ असार । पुतलीबजार नगरपालिकाले सदरमुकामस्थित मुख्य बजारको चोकमा सुन्तलाको प्रतीक स्वरूप दुईवटा हरिया पात र डाँठ सहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा स्थापना गरेको छ ।
सदरमुकाम सहितको पुतलीबजार नगरपालिका–१ स्थित सहिदचोकमा निर्मित टावरको भित्री भागमा पाकेको सुन्तलाको फल राखिएको हो । नवलपरासी निवासी नरबहादुर विकले झण्डै ३ महिनामा सो प्रतिमा निर्माण गर्नुभएको हो । करिब ५० किलो तौलको सो प्रतिमामा तामा, पित्तल लगायतका विभिन्न धातु मिश्रण गरी बनाइएको छ । करिब ५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको बताइएको छ ।
समग्र जिल्लाकै पहिचान बोकेको सुन्तला र त्यसमा पनि पुतलीबजारमा अत्यन्तै राम्रो उत्पादन हुने भएकाले सुन्तलाको प्रवर्द्धन एवं पहिचानका लागि सुन्तलाको प्रतिमा राखिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गमै पर्ने सहिद चोकमा ‘एउटा सुन्तलाको पाकेको फल’ स्वरूपको प्रतिमाले स्याङ्जाको पहिचान प्रदर्शन गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको भनाई छ । राजमार्गको उपयोग गर्दै यहाँ दैनिक भारतीय एवं स्वेदशी सवारी साधनहरु गुड्ने गर्छन ।
पुतलीबजारमा मात्र गतबर्ष ३५ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।