स्याङ्जा २१ बैशाख । उपभोक्ता र ब्यवसायीका हक, हित र अधिकार संरक्षण गर्ने उदेश्यले पुतलीबजार नगरपालिका स्तरीय उपभोक्ता हित संरक्षण समितिले नियमित बजार अनुगमन गर्ने निर्णय गरेको छ ।
बार्षिक कार्ययोजना स्वीकृत गरेर समितिका संयोजक नगरउपप्रमुख देवी अर्यालको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले कार्ययोजना तयार पारेर नगरपालिका अन्र्तगतका बजार तथा ब्यवसायको अनुगमन तथा छड्के निरीक्षण गर्ने भएको हो ।
समितिले बजार अनुगमन कार्यबिधि समेत तयार पारेको जनाएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जा जिल्ला उद्योग वािणज्य संघ, च्याम्बर अफ कमर्श, पत्रकार महासंघ, पुतलीबजार नगपालिकाको कानून शाखाका प्रतिनिधि सदस्य रहने प्रावधान छ ।
खाद्य, तरकारी, मासुजन्य, औषधी लगायत अन्य ब्यवसाय संचालन गरेका मध्ये केही ब्यापारिले सामानको मूल्य भन्दा बढी लिएर ठग्ने गरेको, मिति गुज्रेका समाग्री बिक्री वितरण गर्ने गरेको, नाप जाचँमा फरक परेको, ढाँटी छली ब्यापार गर्ने गरेको लगायतका गुनासा आएपछि नगरपालिकाले यस्ता अभियानलाई संचालन गर्न लागेको हो ।
समितिले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा बजार अनुगमन टोली समेत गठन गरेको प्रशासन प्रमुख धनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।