स्याङ्जा २६ असोज । पुतलीबजार नगरपालिकाले ब्यावसायिक पसलहरुको अनुगमन तथा निरीक्षण गरेको छ। चाडबाड नजिकिदै गर्दै नगरपालिकाले पुनः अनुगमन तथा निरीक्षण गरेको हो।
नगरपालिका भित्रका होटल, रेष्टुरेन्ट, खाद्यान्न, तरकारी तथा फलफुल, मासु, दुध र दुधजन्य परिकार, शैलुन तथा मर्मत तथा निर्माण पसल लगायतको अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ।
उपप्रमुख संयोजक रहने अनुगमन समितिमा पदाधिकारी सहितको टोलीले पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगर, घुम्ति र ४ स्थित बाडखोला, नागडाँडा , १० स्थित राङखोला, ११ स्थित सुम्रेखोला, १३ स्थित लाम्पाटा बजारका आसपासका झण्डै ३ दिनमा ५ दर्जन भन्दा बढी ब्यावसायिक पसलहरुको अनुगमन तथा निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा ब्यवसाय संचालनका लागि आवश्यक मापदण्ड पुरा गरे नगरेको, कर, भ्याट, प्यानमा दर्ता तथा नविकरण भए नभएको, स्वस्थ्यकर सामाग्री भए नभएको, मूल्य सूची, म्याद रहेका वा गुज्रेका सामाग्री, तौल, मूल्य, दोहोरो विल बिजक राखे नराखेको लगायत बिबिध बिषयमा निरीक्षण गरिएको प्रशासन प्रमुख धनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा भेटिएका म्याद सकिएका खाद्यान्न तथा पेयपदार्थ बिक्री कक्षमा नराख्न तथा नष्ट गर्न, मूल्य सूचि, नापतौल बमोजिम बिक्री गर्न, ब्यावसायिक दर्ता तथा नविकरण गर्न जस्ता कार्य तत्काल पुरागरी ब्यवसाय संचालन गर्न सुझाव दिइएको छ।
पालिकाले पहिलो पटक जानकारी एवं सचेत गराउने र अर्को पटक जादाँ पनि यस्तै प्रवृत्ति दोहोरिएमा कानूनी कारवाही गरिने नीति अवलम्बन गरेको उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो ।
उपप्रमुख अर्यालको नेतृत्वमा नगरपालिका, प्रशासन, प्रहरी, कर कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ।