स्याङ्जा २८ जेठ । पुतलीबजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाईन गर्न सकिनेगरी सेवा सुरु गरेको छ ।
नगरप्रमुख तुलसीराम रेग्मीले शुक्रवारदेखि सो सेवा सुरु गरेको जानकारी गराउनुभयो । उहाले भन्नुभयोे, ‘अनलाईन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफनै घरमा बसेर मुक्तान गर्न सक्नुहुनेछ। पालो पर्खेर कर बुझाउनु पर्ने झन्झट हटेको छ।’
पुतलीबजार र गण्डकी प्रदेश अन्तर्गत, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम को सह–लगानीमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत सेवा सुरु गरेको उपप्रमुख देवी अर्यालले बताउनुभयो ।
उपप्रमुख अर्यालका अनुसार, ‘सेवा प्रवाहमा सूचना प्रविधिका नवीनतम उपाय, उपकरण, विधि र माध्यमहरुको प्रयोग गरी छिटो, पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उद्देश्य हो। नगद रहित राजस्व संकलन गर्न मिल्ने गरी क्यूआर भुक्तानी समेतको सुरुवात गरेका छौं।’
अनलाईन सेवासंगै नगरका करदाताले नगरपालिकाको करदाता पोर्टल खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन्। इसेवा, खल्ती लगायतको प्रयोगगरी कर भुक्तानी गर्न र आवश्यकता अनुसारका अन्य विद्युतीय सेवा समेत जोडीदै लगिने प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको भनाई छ ।
नगरपालिकाका कर्मचारीलाई ई—शिफारिस लगायत यस्ता बिबिध सेवा प्रवाहका लागि प्रशिक्षण दिईएको पनि नगरपालिकाले जनाएको छ ।