स्याङ्जा, १७ माघ । पुतलीबजारको दशौं नगरसभा सोमबार सम्पन्न भएको छ ।
सभामा नगरप्रमुख सीमा क्षेत्रीले आव २०७८÷७९ को नीति तथा कार्यक्रमको समिक्षा सहित नगरभित्रका विकास निर्माण लगायतका बारेमा जानकारी दिनुभयो ।
यसैगरी, उपप्रमुख महेश पुरीले आव २०७८÷७९ को आर्थिक तथा बिनियोजन ऐन संशोधन बिधेयक, स्वीकृत अनुदान, योजना तथा कार्यक्रमहरुको संशोधन, न्यायिक समितिका प्रतिवेदन, बिधायन समितिका संयोजक ख्यामनारायण अधिकारीले कानून निर्माणका प्रतिवेदन, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक ओम बहादुर खड्को कार्यालयको संगठन संरचनामा संशोधन तथा कर्मचारी दरबन्दी सम्बन्धी प्रस्ताव र लेखा समिति संयोजक रविबिक्रम केसीले लेखा र बेरुजु सम्बन्धी प्रतिवेदनहरु प्रस्तुत गर्नुभयो ।
सभामा पुतलीबजार नगरपालिका वडा नं. १ का बिष्णुकुमार श्रेष्ठ र ११ का सदस्य शक्तिचन्द्र अर्यालले जिज्ञासा राख्नुभएको थियो । सहभागीका जिज्ञासालाई नगरप्रमुख र उपप्रमुखले जवाफ दिनुभयो ।
पुतलीबजारका ७५ जना सभासद छन्। प्रस्तुत गरिएका ती प्रस्तावलाई सभाले पारित गरेको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो ।
यसैगरी, सभामा जानुअघि सभासद एवं सहभागीका एन्टिजिन परिक्षण गरिएको थियो । परिक्षणमा नेगेटिभ आउने मात्र सभामा सहभागी हुन पाएका थिए भने पोजेटिभ आउनेहरु घरमा बसेर भर्चुअल माध्यमबाट सहभागी हुन पाउभनुभयो ।
ओमिक्रोन भाइरस संक्रमण बढेसंगै पुतलीबजार नगरसभासद एवं सहभागि सबैले एन्टिजिन परिक्षण गर्ने ब्यवस्था मिलाइएको योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकालले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका १ स्थित सभागृहमा आयोजित सभामा चिकित्सको समूहले सहभागीलाई एन्टिजिन परिक्षण गरेर मात्र प्रवेशको अनुमति पाए। कार्यक्रम स्थलमा सो ब्यवस्था मिलाइएको थियो ।
जिल्लामा संक्रमण बढेसंगै सदरमुकामसंगै रहेको पुतलीबजार पनि प्रभावित बनेको छ। झण्डैं सय जनाको परिक्षण गर्दा सोमबार १३ जनामा संक्रमण पुष्टि देखियो। यसरी संक्रमित हुनेमा ८ जना जनप्रतिनिधी, ३ जना कर्मचारी र २ जना अन्य रहेको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद ढकालले जानकारी दिए। संक्रमण देखिएकालाई सभा प्रवेशमा रोकिएको थियो। उनीहरु भर्चुअल माध्यमबाटै सहभागी बनेका थिए ।