स्याङ्जा १६ बैशाख । पुतलीबजार नगरपालिकाका मुख्य बजार क्षेत्रलाई सुरक्षित एवं ब्यवस्थित बनाउने उदेश्यले सरोकारवालाबीच छलफल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको समन्वय नगरपालिका र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी लगायतका उद्योग ब्यवसायीबीच छलफल भएकोे हो ।
छलफलले बिहान ९ बजेदेखि ११ वजेसम्मको पिक आवरमा बजार क्षेत्रमा ब्यापारिक सामान लोड तथा अनलोड नगर्ने, पसलेले आफना पिढीसम्म उपयोग गर्न पाउने, तोकिएका निश्चित क्षेत्रमा पाकिङ गर्नु पर्ने, दोहोरो पार्किङ् गर्न नपाईने, सडकसम्म छुनेगरी राखिएका होडिङ बोर्ड हटाउनु पर्ने, आफना ब्यापारिक सामानले अरुलाई असर पार्नेगरी नराख्ने, फुटपाथमा पसल राख्न नपाइने, पोके तथा घुमन्ते ब्यापारमा रोक लगाउने, टेम्पु लगायतका सवारी यात्रु भाडादरमा एकरुपता ल्याउनु पर्ने, सडक तथा पसल छेकी ब्यवसाय गर्न नपाईने लगायतका निर्णय भएका छन् ।
बिभिन्न बैक, बित्तीय तथा अन्य सहयोगी संस्थासंग समन्वय गर्दे सीसी क्यामरा सहित सडक बत्ती जडान तथा मर्मत गर्ने लगायतका बिषयमा छलफल भएको छ । कार्यक्रममा नगरउपप्रमुख देवी अर्यालले सांगुरो बजार भएकाले ब्यवसायी, पैदलयात्री लगायत सडक उपभोक्ताहरु समेतले ध्यान दिनुपर्ने बताउनुभयो ।
नगरपालिका ब्यवसायीका पक्षमा रहेको जनाउदै ब्यवसायीलाई असर पार्नेगरी कुनै किसिमका कामकारवाही नगर्ने बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, ट्राफिक प्रहरी प्रमुख केशरबहादुर मल्ल, सानिमा विकास बैंकका प्रमुख प्रेमबहादुर महत, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, पूर्वअध्यक्ष नवराज सुवेदी, महासचिव रविन केसी लगायतले ब्यवसायीका कठिनाई र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
यसैगरी, फुटपाथमा रहेका पसल तथा जथाभावी पाकिङ क्षेत्र ब्यवस्थापनका लागि सरोकारवालाले स्थलगत निरिक्षण गरेर उपयुक्त स्थल छनौट गर्ने बिषयमा समेत छलफल भएको छ ।