स्याङ्जा २८ माघ । पूर्वमन्त्री पदमा अर्यालले पुँजी निर्माणका क्षेत्र शिथिल बन्दै गएकाले ब्यापार घाटा बढीरहेको बताउनु भएको छ ।
वालिङ् खेलमैदानमा भएको ८ औं वालिङ् महोत्सवको आइतवार समापन गर्ने क्रममा बोल्दै उनले जसका कारण राजश्व संकलन कमी हुन गई मुलुकको भविष्य कता जाने हो भनेर सोचनीय भएको बताउनु भएको हो ।
‘विकास र सेवासुबिधा गाउँघरमा पुग्ने क्रम बढेको छ। गाउँका घर मानव बिहीन बन्ने क्रम पनि बढेको छ । गाउँ रित्तिदै गएको छ। उर्जाशील युवा जनशक्ति विदेशिदै छ। सबै मिलेर रोक्न जरुरी छ। युवा शक्ति स्वदेशमै अड्याउनेतर्फ सबैको ध्यान जानु जरुरी छ’ उहाले भन्नुभयो ।
कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत योगदान निजी क्षेत्रले धाने पनि सो क्षेत्र निराश बनेको जनाउदै निरासाका कारण पत्ता लगाउनु पर्नेमा नेतृ अर्यालले सुझाव दिनुभयो । आउने दिन अझै आर्थिक अवस्थामा कमजोर हुने गरिएका प्रक्षेपणप्रति सरकार गम्भीर बन्नुपर्नेमा उहाले जोड दिनुभयो ।
‘गाउँ गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यान्न, सडक, भौतिक पूर्वाधार पुगे पनि गाँउघर रित्तिदै जाने क्रम बढ्नु दुखद छ।’ नेकपा एमाले केन्द्रिय सचिव समेत रहेका अर्यालले थप्नुभयो ,’ नेकपा एमाले केन्द्रिय सचिव समेत रहनु भएका अर्यालले भन्नुभयो ्,‘अब स्वदेशमै रोजगारका वातावरण सृजनाका निम्ति बहस गरौं।’
वालिङ्मा जारी महोत्सवले स्याङ्जाको पहिचान, कला, संस्कृति, सम्पदा र अवस्थाका बारेमा देश तथा विदेशसम्म चिनाउन सफल भएको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल, प्रदेश सांसद द्धय महेश भट्टराई र निर्मला थापा, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, नेपाली कांगे्रस वालिङका सभापति नेत्रप्रसाद पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, पुर्व अध्यक्ष मञ्चका अध्यक्ष पुण्यप्रसाद अर्यालले महोत्सवका लक्ष्य र उदेश्य सफल भएको बताउनुभयो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिति संयोजक चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी,धन्यवाद ज्ञापन तथा महोत्सवको समापन उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।
महोत्सवमा ३ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेको र १० करोड भन्दा बढिको व्यापारिक कारोबार भएको जनाइएको छ ।
माघ १८ देखि शुरु भएको वालिङ महोत्सव आइतवार सकिएको हो। महोत्सवमा स्थानीय हस्तकलाका सामाग्री, कृषिका सामाग्री, फेन्सी तथा कष्मेटिक र लगायत ४ सय वटा स्टल थिए ।
दिनहुँजसो स्थानीय, राष्ट्रिय कलाकारको प्रस्तुती, लोकसंस्कृति झल्कने रत्यौली, भजन चुट्का, स्याङ्जा आइडल, बिद्यार्थीबीच नृत्य प्रतियोगिता सहित बालउद्यान राखिएका थिए ।