काठमाण्डौं २३ पुस । नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दै हुनुहुन्छ । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने तयारी छ ।
एमाले नेता विष्णु रिजालका अनसार प्रदेश–२ मा सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन नहुने भएको छ । यस्तै, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटीले आज जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।
एमालेले जिल्ला र प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । एमालेले गएको मंसिरमा चितवनमा १० औँ महाधिवेशन गरेको थियो ।
नेकपा एमाले प्रदेश २ का आठ जिल्लामध्ये शुक्रबार एक जिल्लाको मात्रै जिल्ला अधिवेशन हुने भएको छ । सप्तरी बाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने भएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो । यसअघि एमालेले गैर भौगोलिक ११ बाहेक सवै जिल्ला अधिवेशन पुस २३ गते शुक्रबार हुने बताएको थियो । सचिव अधिकारीका अनुसार भौगोलिक र गैर भौगोलिक गरी एमालेका ८८ जिल्ला कमिटीमध्ये शुक्रबार ६४ जिल्लाको मात्रै जिल्ला अधिवेशन सुरु हुने भएको छ ।
पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते जिल्ला अधिवेशन तय भएको छ । नेकपा एमाले प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले नेताहरुको कार्यव्यवस्तताका कारण प्रदेशका केही जिल्लाको अधिवेशन पछि गर्ने सहमति भएको बताउनुभयो ।
धनुषा, महोत्तरी र सर्लाहीको क्रमश माघ ३, ५ र ७ गते जिल्ला अधिवेशन हुने महासेठको भनाई छ । एमाले प्रदेश २ मा इन्चार्ज महासेठले पार्टी कमिटीमा एकलौटी गर्न खोजेको भन्दै पुर्व माओवादी समुह र एमालेकै पुराना नेता कार्यकर्तामा असन्तुष्टि छ । ८८ मध्ये ६४ जिल्लाको भने आज अधिवेशन हुने र २४ जिल्लाको पछि हुने भएको हो ।