स्याङ्जा ९ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफु निष्पक्ष भूमिकामा रहने बताउनु भएको छ ।
विगतमा जो जस्ले जस्तो भूमिका निर्वाह गरे पनि अहिले आफु स्वतन्त्र रहेकाले सोही भूमिकामारही नियमित कार्य गर्ने बताउनुभयो । सभामुख भएपछि राजनीतिक दलको सदस्यता समेत त्यागेकाले सभामुखको मर्यादामा रहने बताउनुभयो ।
कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा १५ शैयाको कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै सभामुख घिमिरेले संसदमा अब्बल एम्पायरको भुमिकामा रहने बताउनुभयो ।
‘दलहरु अनुशासित तवरले प्रस्तुत् हुनुपर्छ।’ संसदको गरिमा सांसदले नै बढाउने हो, उहाले भन्नुभयो, ‘सांसदहरुका हरेक सवालमा नागरिकले अनुभुती गर्नपाउने विकासको मोडालिटी बनाउनुपर्छ। स्वास्थ्य, शिक्षा, रोजगारलाई प्रथामिकता दिनुपर्छ ।’
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य महेश भट्राई, पुर्व प्रदेशसभा सदस्य मोहन रेग्मी, लगायतले जिल्लाका विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कालीगण्डकी अस्पतालको नयाँ भवन २१ करोड ५७ लाख ६८ हजार ५०२ रुपियाँमा निर्भाण हुन लागेको हो।
करिब १३ रोपनीमा बन्ने १५ शैयाको अस्पताल भवन आर एण्ड सीएस विकोन जेभि काठमाडौसंग कार्तिकमा निर्माण सम्झौता भएको छ। तीन तले अस्पताल दुई बर्षमा निर्माण सक्ने गरी सम्झौतामा उल्लेख छ।
अस्पताल निर्माणपछि स्याङ्जा लगायत गुल्मी, पर्वतका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।
यसैबिच, सभामुख घिमिरेले पालिकास्तरीय अध्यक्ष कप प्रतियोगिताको पनि उद्घाटन गरेका छन्। प्रतियोगितामा बिभिन्न ६ विद्याका १९ खेल संचालन गरिनेभएको छ ।
कार्यक्रममा पालिकाको झण्डा बनाउने वडा नं ७ का मदन भट्राई र छाप निर्माण गर्ने वडा नं ५ का रिजिता श्रेष्ठलाई नगद ५०÷५० सहित सम्मान पत्रले सम्मान गरिएको छ ।