स्याङ्जा १७ माघ । स्याङ्जामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र यहाँका क्रियाशिल पत्रकारबीच मंगलबार प्रशासन कार्यालयमा परिचयात्मक कार्यक्रम गरिएको छ ।
प्रजिअ घिमिरेले स्याङ्जा जस्तो पुण्यभूमिमा सेवा गर्न पाएको अवसरलाई उपयोग गर्दै सबैसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
कला संस्कृति, धार्मिक एवं शैक्षिक क्षेत्रमा अग्रणीस्थानमा रहेको स्याङ्जाको शान्ति सुब्यवस्था, विकास निर्माण लगायत अन्य बिबिध कार्यमा संचारजगतको महत्वपूर्ण भूमिका रहने उहाले जनाउनु भयो ।
निजामति सेवा र संचारजगतको मुख्यउदेश्य भनेको समाजसेवा नै रहेको जनाउदै प्रजिअ घिमिरेले समग्र जिल्लाका विकास र शान्ति सुब्यवस्था कायम राख्ने कार्यमा हातेमालो गर्दे अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माले स्याङ्जा र पत्रकारिताका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
गृह मन्त्रालयले झण्डै एक साताअघि यहाँ कार्यरत प्रजिअ गंगाबहादुर क्षेत्रीलाई गृहमन्त्रालयमा र अर्घाखाचीमा कार्यरत प्रजिअ घिमिरेलाई स्याङ्जा सरुवा गरेको थियो ।
सरुवा भएका प्रजिअ घिमिरे दुई दिनअघि स्याङ्जा आउनु भएको हो । निजामति सेवामा १८ बर्ष सेवा गर्नुभएका प्रजिअ घिमिरेको घर गुल्मी हो । खरिदार पदबाट निजामति सेवामा प्रवेश गर्नु भएका घिमिरेले नासु, उपसचिव हुदै हाल सहसचिवमा सेवारत हुनुहुन्छ ।