स्याङ्जा ७ कात्तिक । नेपालीहरूको दोस्रो महान पर्व तिहार (आइतबार) बाट सुरू भएको छ । यमपञ्चकको पहिलो दिन काग तिहार पर्व देशभर मनाइएको हो । कार्तिक कृष्ण त्रयोदशीको दिन बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरू भएको हो ।
शनिवार सायम्कालमा त्रयोदशी भएका दिन यमदीप दान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार आइतबार काग तिहार मनाइएको छ । कागको पूजा गरेर कागलाई मिठो खानेकुरा दिने प्रचलन रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबार बिहान कुकुर तिहार र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने हुन्छ ।
यसैगरी कात्तिक ८ गते गाई पूजा, कात्तिक ९ गते प्रतिपदाका दिन गोरुपूजा, गोवर्द्धन पूजा तथा मह पूजा र कात्तिक १० गते द्वितीयाका दिन भाइटीका रहेको छ ।
भाइटीकाको उत्तम साइत नेपालमा बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । यसैगरी, अन्य देशहरुमा पनि भिन्नभिन्न समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

