स्याङ्जा २४ भदौ । गल्याङ प्रिमियर टि ट्वान्टी लीग क्रिकेट (जीपीएल) को उपाधी गल्याङ ब्लास्टरले जितेको छ ।
गल्याङ नगरपालिका –१ मालुुङगा खेल मैदानमा भएको फाईनल खेलमा गल्याङ ईगल्सलाई पराजित गर्दै ब्लास्टरले उपाधी पाएको हो। ईगल्सले दिएको ९२ रनको लक्ष्य ब्लास्टरले १० ओभरमा २ विकेट गुमाउदै भेटाएको थियो ।
ईगल्सले १४ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो। उपाधी बिजेता गल्याङ ब्लास्टरले १ लाख नगद सहित शिल्ड पाएको छ ।
यसैगरी, दोस्रो भएको गल्याङ ईगल्सले ५० हजारमा पाएकोे छ । गल्याङ क्रिकेट संघद्धारा आयोजित प्रतियोगितामा आठ समूह प्रतिस्प्रर्धी थिए। प्रतियोगिता अवधिभर खेलेका खेलाडीलाई बिभिन्न बिधामा पुरस्कृत गरिएको छ ।
आठ वटै टिमले अक्सन मार्फत एक महिनाअघि देखिनै खेलाडी छनौट गरिएको प्रतियोगिता संयोजक एवं संघका उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
प्रतियोगिता समापन गर्दै बिभिन्न बिधामा विजेतालाई पुरस्कार एवं सम्मान गर्दै गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराईले खेल क्षेत्रले गल्याङ्ले समग्र स्याङ्जाकोे पहिचान बढाएको बताउनुभयो । पालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाले बताउनुभयो ।
‘गल्याङ्संगै स्याङ्जाका गाउँ गाउँमा रहेका क्रिकेट खेलाडीको खोजी तथा पहिचान भएको छ । अब, क्रिकेट खेललाई व्यावसायिक गर्नेगरी अघि बढ्नुहोस्, पालिकाले आवश्यक सहयोग गर्नेछ।’ नगरप्रमुख भट्टराईले आयोजकलाई सुझाव दिनुभयो ।
गल्याङ् क्रिकेट संघले पहिलो पटक झण्डै एक महिने प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको क्रिकेट संघका अध्यक्ष ठगेन्द्र थापाले जानकारी गराउनुभयो । भदौ २२ देखि सुरु जीपीएल प्रतियोगिता २० दिन सम्म संचालनमा थियो ।