स्याङ्जा १ भदौ । पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जाले ११ महिनापछि अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेनट) पाएको छ ।
पर्वत जिल्ला अस्पतालबाट सरुवा भई आएका डा.रूक्विना अधिकारीले शुक्रवार अस्पतालमा हाजिर भएर कामकाज सुरु गरेको अस्पताल संचालक समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकार अन्र्तगतको सो अस्पताल गएको कात्तिकदेखि प्रमुख बिहीन थियो। त्यसपछि सोही अस्पतालमा कार्यरत वरिष्ठ नर्स कृष्णकुमारी कार्कीले निमित्त भई संचालन गर्दै आउनु भएको थियो ।
डा. अधिकारीसंग यसअघि म्याग्दी र पर्वत जिल्ला अस्पतालका काम गरेको अनुभव छ । अधिकारीले म्याग्दीमा कार्यक्रम अधिकृत र पर्वत जिल्ला अस्पतालमा झण्डै डेढ बर्ष प्रमुख भै काम गरेको बताउनुभयो ।
नागरिकका स्वास्थ्य सेवा छिटो, छरितो र प्रभावकारी बनाउने उदेश्यलाई अस्पतालका सबै प्रकारका कर्मचारी, संचालक समिति र सरोकारवाला सबैसंग सहकार्य गर्दे अघि बढ्ने उहाले बताउनुभयो ।
अस्पताल संचालक समितिका अध्यक्ष इन्द्रबहादुर गोदार, निमित्त प्रमुख कृष्णकुमारी कार्की सहित सदस्य लगायत अस्पतालका कर्मचारीले स्वागत गर्दै अस्पतालका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।