स्याङजा, ६ भदौ । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ । जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा–बन्धन बाँध्ने परम्परा छ ।
आजका दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन ्। यस्तै नेवारी समुदायमा क्वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ । आज बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो ।
आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको र आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गर्ने गरिन्छ । जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ । पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ । आजका दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छ ेअनुसारको उपहार आदानप्रदान गर्छन् ।
नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन ्। यस समुदायमा नौवटा गुडागुडी मिश्रण गरिएको क्वाँटी खाने प्रचलन छ । पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ । अन्य समुदायका मानिसले जनै फेरेर क्वाँटी खाने गर्छन् । टुसा पलाएको पौष्टिक तत्वयुक्त क्वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन ्। क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गुडागुडीको मिश्रणबाट बनेको हुन्छ । यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने भएकाले यस दिन क्वाँटी खाने चलन रहेको हो ।