स्याङ्जा ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले वालिङमा आयोजना गरेको खुला सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनता जागेपछि मात्रै परिवर्तन सम्भव हुने बताउनुभएको हो । देशमा भ्रष्टाचार, कुशासन, तस्करी, विभेदको अध्यारो मौलाउँदै गएकाले त्यसलाई चिर्नकालागि पनि जनतामा परिवर्तन हुनु जरुरी रहेको उहाँको भनाई थियो ।
३४ वर्षसम्म जति झुक्कियो, झुक्कियो अब झुक्किने, लोभिने र डर त्रासमा नपरेर मतको सदुपयोग गरेमात्रै परिवर्तन सम्भव हुने दावी उहाँको थियो ।
देशलाई अध्यारो स्थितिबाट उज्यालोतर्फ अगाडि बढाउने योजना राष्ट्रिय स्वतन्त्र पार्टीसित रहेको दावी उहाँले गर्नुभयो । हरेक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति, कुरीतिको अन्त्यकालागि पार्टी निरन्तररुपमा लाग्ने उहाँले बताउनुभयो । भ्रष्ट नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने मुद्दालाई पार्टीको प्राथमिकताका साथ उठाएको र पार्टीभित्र कोही कसैले भ्रष्टाचार गरेको पाईएमा तत्कालै कारवाही गर्ने पनि बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीमा देशले चिनेको कम तर देशलाई चिनेका धेरै युवा सांसदहरुको उपस्थिति संसदमा रहेको उहाँले बताउनुभयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य मेघ आले, गण्डकी प्रदेश सभापति राजन गौतम, प्रदेश ईन्चार्ज झविलाल डुम्रे, स्याङ्जा क्षेत्र नं. २ का सभापति टिकराज गुरुङले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नगरसभाले सुरेन्द्र काफ्लेको सभापतित्वमा नगर समिति गठन गरेको छ । काफ्लेको सभापतित्वमा ७ सदस्यीय समिति गठन गरिएको छ भने उपसभापति, सचिव, कोषाध्यलगायत अन्य सदस्य पछि मनोनित गरिनेछ ।
गठित समितिको सदस्यहरुमा बिजनारायण रेग्मी, कल्पना कार्की, उत्तम खनाल, श्रीधर तिवारी, कल्पनादेवि ढकाल, प्रदिप पाठक रहनुभएको छ ।
यसैगरी, भीरकोट र गल्याङ्मा पनि गरिएका सभालाई सभापति लामिछानेले सम्बोधन गर्नुभएको थियो ।