काठमाण्डौं ३ असार । चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।
चीनले पठाएको तीन अन्तरिक्ष यात्री निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट तीन सय ८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउने बीबीसीमा उल्लेख छ । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो ।
यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ । गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा अन्तरिक्ष यान उतारेको छ ।