स्याङ्जा २० चैत । स्याङ्जा प्रहरीले पिसाबबाट लागु पदार्थ सेवन (लापसे) गरे नगरेको पहिचान गर्ने अभियान सुरु गरेको छ ।
यातायात सवारी चालक तथा सहचालकलाई लक्षित गर्दे लापसे चेक जाँच अभियान सुरु गरेको हो ।
चालक तथा सहचालकका पिसाबको ल्याब परिक्षणबाट लापसे गरे नगरेको पहिचान गर्न सकिन्छ । परिक्षणको नतिजा ५ मिनेटमै थाहा पाउन सकिने ल्याब परिक्षण प्राबिधिकहरुले जनाएका छन ।
पुतलीबजार नगरपालिका १ बिष्णुपँधेरा स्थित बसपार्कबाट सुरु गरेको सो अभियानको सोमबार शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बढ्दो दुर्घटना न्यूनिकरणका लागि यस्ता परिक्षण प्रभावकारि बन्ने बताउनुभयो । सबै खालका सवारी साधान चालक मानसिक एवं शारिरीक रुपमा स्वस्थ्य हुनैपर्छ भन्ने यो अभियानको उदेश्य पनि हो ।
एक्लो चालकको गल्तीमा सवारी साधनमा सवार सबै यात्रुको ज्यान जोखिममा पर्ने जनाउदै यसतर्फ चालक र सहचालकका भूमिका निकै महत्वपूर्ण रहने उहाको भनाई छ । सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी यातायात प्रा.लि.को सन्देशमूलक सहयोगले सकारात्मक प्रभाव पार्ने उहाले बताउनुभयो ।
राजमार्ग मात्र नभई जिल्लाका भित्री सडकमा पनि लापसे परिक्षण गरिने प्रहरी उपरीक्षक शालिकराम शर्माले जानकारी दिनुभयो । सोमबारदेखि सुरु अभियानलाई जिल्लाभर लागु गरिने प्रहरी प्रमुख शर्माको भनाई छ ।
गण्डकी यातायात प्रा.लि.का अध्यक्ष भानुभक्त बरालले दिनहुँजसो सुनिने तथा देखिने दुर्घटनाले धेरै मानवीय तथा धनको क्षति पुगेको जनाउनुभयो । उहाले लापसे परिक्षण किटको प्रभावकारिताका आधारमा प्रा.लि.ले आवश्यक परेमा पुनः सहयोग थप गर्ने प्रतिवद्धता जनाउनुभयो ।
गण्डकी यातायात प्रा.लि.ले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई संयुक्तरुपमा लापसे परिक्षण किट सोही कार्यक्रममा हस्तान्तरण गरेको थियो। अभियान सुरु भएसंगै वुटवल, पाल्पा हुदै स्याङ्जा र पोखरासम्म पुग्ने दर्जनौं सवारी साधनका चालक तथा सहचालकको लापसे परिक्षण गरिएको थियो ।