स्याङ्जा २३ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई स्याङ्जाको गल्याङ नगरपालिकाले चार लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गल्याङ नगरपालिकाको कार्यपालिका बैठकले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको छ दशमलव चार रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति पालिकाले दुःख प्रकट गर्दै भुकम्प पिडितलाई थप राहत मिलोस भनी पालिकाले चार लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिबाट २ लाख रुपैयाँ र नगरपालिकाको विपत व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ गरि जम्मा ४ लाख रुपैयाँ नेपाल सरकारले खडा गरेको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
जस अनुसार नगरपालिकामा कार्यरत कर्मचारीको एक दिनको तलब तथा जनप्रतिनिधिको एक दिनको सेवा सुविधाबाट रकम जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो । गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले शोक विज्ञप्ति समेत प्रकाशन गर्दै घटना प्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।