स्याङ्जा, १२ माघ । क्यान्सर पिडित विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । श्रवण माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको नियमित बैठक तथा सहयोग रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो ।
ब्लड क्यान्सरबाट पिडित भई काठमाडौमा उपचाररत श्रवण माध्यमिक विद्यालय कक्षा–९,मा अध्यानरत पुतलीबजार–१४, स्यानीबैदी निवासी वर्ष १३ का समीर मल्लको उपचारमाका लागी १ लाख ५७ हजार ६८५ रुपैँयाको चेक हस्तान्तरण गरिएको हो । पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रविन केसीले क्यान्सर पिडित बालक समिरका ठूलोआमा बिमला मल्ललाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
पूर्व विद्यार्थी मञ्चकोे आर्थिक संकलन अभियानमा पूर्व विद्यार्थी तथा शुभचिन्तकहरुद्धारा संकलित रकमको चेक बाबुको उपचारका लागि थप सहयोग गर्ने उदेश्यले हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष केसीले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद पौडेल, प्रधानाध्यापक हिमलाल ढकाल, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, पूर्व विद्यार्थी तथा युवा समाजसेवी विष्णु गिरी लगायत पूर्व विद्यार्थी मञ्चका पदाधिकारी लगायतले क्यान्सर पिडित बालकको ज्यान बचाउन सबैले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रमको संचालन मञ्चका सहसचिव बिक्रम संबतले गर्नुभएको थियो। यसैगरी, मल्लको उपचारका लागि पंञ्चमूखी बचत तथा ऋण सहकारीले ४४ हजार, श्रवण माविका शिक्षक बिद्यार्थीले ३३ हजार ९ सय २५ रुपैंया, पूर्व बिद्यार्थी मंचले २० हजार, सतौचण्डी बहुउदेश्यीय सहकारी संस्थाले १० हजार रुपैंया सहयोग उपलब्ध गराएका छन् ।